गाेरखा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भू-भागमा साधरणतया बादल लाग्नेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



