गोरखा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।
देशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको पनि महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधरणतया बादल लागि बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।
साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू–भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ अनुमान गरिएको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातसहित वर्षाको तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।
साथै कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा तराई भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानहरूमा चट्याङ्गको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।



