एजेन्सी । रूस, युक्रेन र अमेरिकाबीच युएईको आबुधाबीमा त्रिपक्षीय वार्ता शुरु भएको छ । रुस र युक्रेनबीचको झन्डै ४ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको योजनामा २ देशबीच यो पहिलो प्रत्यक्ष सार्वजनिक वार्ता हो ।
रुसले युक्रेनको पूर्वी डोनवास क्षेत्र फिर्ताबारेको आफ्नो मागलाई यथावत् नै राखेको अवस्थामा त्रिपक्षीय वार्ता शुरु भएको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेत्र नै मुख्य मुद्दा रहेको र वार्ताको एजेन्डा यही विषय रहने बताएको समाचार संस्था एएफपीले जनाएको छ ।
युएईको विदेश मन्त्रालयले विज्ञप्तिमा अबुधाबीमा वार्ताको शुरुआत भएको र यो वार्ता २ दिनसम्म चल्ने जनाएको छ । अस्ति अमेरिकी राजदूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका थिए । त्यसपछि ३ देशका उच्च टोली वार्तामा सहभागी भएका हुन् ।




















