गाेरखा । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ ।
आज पनि मधेस र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहने अनुमान महाशाखाले गरेकाे छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
आज राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।



