गाेरखा । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीका सबै नेता/कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिएसँगै सभापति थापाले विज्ञप्ति निकालेर नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको उल्लेख गरेका छन् ।
विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका सहमत भएका वा नभएका सबैलाई उनले संयमता अपनाउन, जिम्मेवार बन्न र एकताबद्ध बन्न आह्वान गरेको हो । उच्च आत्मविश्वास र तयारीका साथ अबको चुनावमा लाग्नुपर्नेमा उनको जोड छ ।
पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहेकाहरुबाट लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहने थापाको विश्वास रहेकाे छ ।
पार्टीको संस्थापन पक्षको विमतीकाबिच विशेष महाधिवेशनले बहुमत प्रतिनिधिको उपस्थितिमा चयन गरेको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले हिजो मान्यता दिएको थियाे ।
गएको पुस २७ देखि ३० गतेसम्ममा राजधानीकाे भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । यो कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिक ठहर गरेको छ ।
निर्वाचन आयोगले काँग्रेसको विधानमा रहेका प्रावधानलाई मुख्य आधार बनाएर आधिकारिकतासम्बन्धी निर्णय गरेको जनाएको छ । संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, दलसम्बन्धी नियमावली, २०७४ र दलको विधानसम्मत भए गरेको देखिएको आयोगले उल्लेख गरेको छ ।
विधानको धारा १७ (२) मा ४० प्रतिशत प्रतिनिधिले विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरे ३ महिनाभित्रमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै असोज २९ मा निवेदन दिएका थिए । त्यसलाई केन्द्रीय कार्यसमितिले बेवास्ता गरेपछि तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका थिए ।



