गाेरखा । नाग्मा–गमगढी सडक खण्डअन्तर्गत छायाँनाथ रारा नगरपालिका–७ स्थित आलाधुने खोलाको मोडमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना हुँदा १ जना अमल्दारको ज्यान गएको छ।
आइतबार रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री हनुमानध्वज गुल्मको सल्लेरी पोस्टबाट कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेस्थित पोस्टका लागि बन्दोबस्ती सामग्री पुर्याएर फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।
नेपाली सेनाको ना १ झ १०३९ नम्बरको बोलेरो जिप अन्दाजी राति १० बजेर २० मिनेटमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।
दुर्घटनामा बैतडी जिल्ला पाटन नगरपालिका–४ बगाडी घर भई हाल हनुमानध्वज गुल्म रारामा कार्यरत अमल्दार हरि सिंह ऐरी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्याइएको भए पनि उपचारका क्रममा राति २ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा ज्यान गुमाएका अमल्दार ऐरीको जिल्ला अस्पताल मुगुमा पोस्टमार्टम सम्पन्न गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत अन्त्येष्टिका लागि उनको जन्मघर बैतडी जिल्ला पाटन नगरपालिका–४ बगाडी पठाइ सकिएको प्रहरीले जनाएको छ ।



