एजेन्सी । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएकाे छ । मदुरोलाई राजधानी कराकसबाट हेलिकप्टरमा उडाएर क्यारिबियन सागरको थाहा नभएको ठाउँमा यूएसएस इवो जिम्मा लगिएको थियो ।
त्यसपछि उनलाई क्युबाको ग्वान्टानामो खाडी अमेरिकी नौसेना बेसमा पुर्याइएपछि अर्को विमानमा न्यूयोर्क राज्यको ओरेन्ज काउन्टीमा रहेको स्टीवर्ट एयर फोर्स बेसमा लगिएको बीबीसीले जनाएकाे छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आँखामा पट्टी बाँधिएको’ मदुरोको तस्बिर आफ्नै सामाजिक सञ्जाल ’ट्रुथ सोसियल’ मा सार्वजनिक गरेका थिए । अब भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
भेनेजुएलामा अमेरिकी आक्रमण र मदुरो पक्राउ परेपछि विश्व समुदाय भने विभाजित देखिएको छ । अमेरिकामा दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएदेखि नै ट्रम्पले भेनेजुएलामा सत्ता परिवर्तन हुनुपर्ने विषय उठाएका थिए ।
ट्रम्पको पहिलो कार्यकालमै मदुरोसँग सम्बन्ध राम्रो थिएन । मदुरोले अमेरिकामा लागूऔषध तस्करी गराइरहेको आरोप लगाउँदै आएको अमेरिकाले अब न्यूयोर्कमा उनी र उनकी पत्नी सिलिया फ्लोरेसमाथि मुद्दा चलाउने बताएको छ ।



