गाेरखा । लगातार हुस्सु र कुहिरो लाग्दै आएको तराई–मधेशका केही ठाउँहरुमा बिहीबारदेखि घाम लाग्न थालेको छ । आज पनि तराईका धेरै ठाउँको आकाश खुल्ने र घाम लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएकाे छ ।
घाम लागेसँगै केही दिनदेखि बढेको अत्यधिक चिसो पनि केही कम हुने अपेक्षा गरिएको छ । तराईमा हुस्सु र कुहिरोका कारण अत्यधिक चिसो बढेपछि धेरै विद्यालयहरू बन्द छन् भने दैनिक कामकाज गर्नसमेत समस्या भइरहेको छ ।
घाम लागेसँगै बालबालिका, वृद्धवृद्धा तथा दैनिक ज्यालादारी गर्नेहरूले राहत महसुस गरेका छन् । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



