गाेरखा । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग संवाद गरेकी छन् ।
यही पुस १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा उनीहरूबीच भेट भएको थियो । उक्त भेटपछाडि पनि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले पनि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग अधिवेशनको तयारीका सम्बन्धमा छलफल गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । अधिवेशन आश्वान गर्दा १ साताको समय दिने अभ्यास पनि छ ।
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । यो विषयमा मन्त्रिपरिषद्का छलफल हुन सक्ने पनि जनाइएको छ ।
गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको थियो । भाद्र २३ र २४ गते जेनजी आन्दोलनपछि तत्कालीन सरकार ढल्यो र २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्यो भने राष्ट्रिय सभाको अधिवेशन ३१ भदौमा अन्त्य गरेको हो ।



