गाेरखा । नेपाल आयल निगमले आज बिहानैदेखी लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको छ । नयाँ समायाेजन मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर ५ रुपैयाँ घटाएको निगमले जनाएको हाे ।
अब पेट्रोलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५८ रुपैयाँ र तेस्रो वर्गका लागि १५९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै डिजेल र मट्टीतेलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर १३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३६ रुपैयाँ र तेस्रो वर्गका लागि १३७ रुपैयाँ तोकिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्ग, सुर्खेत र दाङलाई दोस्रो वर्ग र काठमाडाैं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।
हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको निगमले जनाएको छ । एलपी ग्याँसको भाउ बढेर आएको भएता पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर बिक्री मूल्य यथावत् राखिएको निगमको भनाइ छ ।



