गाेरखा । पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई–मधेशमा आज पनि हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो यसअघिको तुलनामा थोरै मात्रामा भए पनि तराईको आकाश खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यद्यपि पूर्ण रूपमा हुस्सु र कुहिरो हट्ने संभावना नरहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान छ ।
यसैगरी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि तराई–मधेशका धेरैजसो ठाउँमा हुस्सु कायमै रहने अनुमान गरिएको छ ।
हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



