गाेरखा । फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनावकाे लागि आज समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने अन्तिम दिन भएकाले मुख्य दलहरु नामावली टुंग्याउने कसरतमा छन् ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार राजनीतिक दलहरुले आजसम्म आयोगमा बन्द सूची दर्ता गराइसक्नुपर्नेछ ।
आजसम्म बुझाइएका बन्द सूचीको भोलिदेखि २० गतेसम्म प्रारम्भिक परीक्षण हुनेछ । त्यसपछि देखिएका कमजोरी सच्याउन पुस २१ देखि २७ गतेसम्म दलहरुलाई समय दिइनेछ । सच्याइएका बन्द सूची पुस २८ देखि माघ ३ गतेसम्म पुनः परीक्षण गरिने आयोगले जनाएको छ ।
आयोगले माघ ४ गते बन्द सूची सार्वजनिक गर्ने तयारी गरेको छ भने माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ । हिजो केही दलहरुले बन्द सूची पेश गरिसकेका छन् । ती दलले निस्सा लिएर दर्ताको प्रक्रिया पूरा गरेका हुन् ।
उम्मेदवारको नाम मतदाता सूचीमा छ, छैन हेरेर आयोगले निस्सा दिएपछि बन्द सूची पेश गरिएको हो ।
मुख्य दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपा लगायतका दलहरुले आज बन्द सूची बुझाउँदैछन् ।
यसअघि १०० वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको चुनावमा सहभागी हुन दल दर्ता गराएका छन् ।



