एजेन्सी । नेपालमा तिब्बती शरणार्थीहरू आज व्यापक डिजिटल निगरानीको सामना गरिरहेका एपी समाचार संस्थाले जनाएकाे छ ।
एक समय चिनियाँ दमनबाट भागेका तिब्बतीहरूका लागि आश्रय बनेको नेपालमा अहिले चीनद्वारा आपूर्ति गरिएका हजारौँ सीसीटीभी क्यामेराले उनीहरूको गतिविधि निगरानी गरिरहेको एक अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ ।
एपीकाे याे रिपाेर्ट वासिंगटन पाेष्टमा डिसेम्बर बीसमा प्रकाशित भएअनुसार नेपालसहित कम्तीमा १५० देशमा चीनले निगरानी प्रविधि निर्यात गरिरहेको छ ।
सस्तो र प्रविधियुक्त प्रहरी प्रणालीको माध्यमबाट चीनले आफ्नो वैश्विक प्रभाव विस्तार गरिरहेको बताइएको छ । यी प्रविधिहरूले एक समय विश्वभर फैलिएको ‘Free Tibet’ आन्दोलनलाई नेपालमा लगभग निष्क्रिय बनाएको छ ।
निगरानी बढेसँगै नेपालमा तिब्बती शरणार्थीहरूको संख्या तीव्र रूपमा घटेको छ । सीमाना कडा बनाइएकाले अब वार्षिक रूपमा केही व्यक्तिमात्र नेपाल प्रवेश गर्न सक्ने अवस्था छ ।
शरणार्थी कार्ड नहुँदा धेरै तिब्बतीहरू रोजगारी, बैंक सेवा र आवतजावतका आधारभूत अधिकारबाट वञ्चित छन् ।
मानवअधिकारकर्मीहरूका अनुसार मन्दिर, सडक र सीमाक्षेत्रसम्म फैलिएको क्यामेरा निगरानीले तिब्बती समुदायलाई मौन बस्न बाध्य बनाएको छ । एक तिब्बती शरणार्थीले भने, “अब तिब्बती हुनु भनेको निजी ठाउँभित्र मात्र सम्भव भएको छ ।”


