गाेरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएकाे छ । नयाँ र वैकल्पिक शक्तिहरुबीचको एकताले मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने भन्दै उनीहरु बिच सहमती भएकाे हाे ।
सहमतिमा हस्ताक्षर गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै रास्वपा सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् ।
मध्यराति भएको सहमतिअनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र चुनाव चिन्ह घण्टी हुनेछ । पार्टीको सभापति रवि लामिछाने हुने र प्रतिनिधिसभाको चुनावपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने सहमति भएको छ ।
यसअघि उज्यालो नेपाल पार्टीलाई पनि समेटेर एकताको प्रयास भएको थियो । तर पार्टीका संरक्षक कुलमान घिसिङले अस्तित्वको प्रश्न उठाउँदै असहमति जनाएका थिए ।
कुलमानले असहमति जनाएपछि रास्वपाका सभापति रवि लामिछाने र बालेन शाहबीच गएराति अबेरसम्म भएको छलफलपछि सहमतिमा हस्ताक्षर भएको हो ।


