गाेरखा । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले आगामी चुनाव नलडने घाेषणा गरे लगत्तै अर्का महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डेले समेत आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् ।
कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री पाण्डेले प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका हुन् ।
महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले आगामी निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरिसकेका छन् । महामन्त्री थापाले भने विहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने बताएका थिए ।
अर्का महामन्त्री शर्माले भने पार्टीको नेतृत्व परिवर्तन भए पनि आसन्न निर्वाचन नलड्ने स्वघोषणा गरेका छन् ।
बिहीबारकाे कार्यसम्पादन समिति बैठकमा उनले आफू लगातार ३ पटक उम्मेदवार बनिसकेकाले राजनीतिक प्रवृत्ति भत्काउन अब निर्वाचन नलड्ने जानकारी दिएका थिए ।
निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेस बाजुराले पाण्डेको नाम उम्मेदवारको आकांक्षीका रूपमा केन्द्रमा सिफारिस गरेको छैन । उनी प्रतिनिधिसभा निर्वाचन–२०७९ मा बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
जेनजी आन्दोलनका बेला उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको सरकारमा मन्त्री थिए ।


