साँकेतिक तस्बिर
गाेरखा । संखुवासभामा आफ्नै श्रीमतीको हत्या गरेर प्रहरीमा हराएकाे निवेदन दिन पुगेका श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी नगरपालिका-६ बस्ने ४९ वर्षीय प्रेम दोर्ची शेर्पा भएकाे सखुवासभा प्रहरीले पुष्टी गरेकाे हाे ।
उनीमाथि आफ्नी ३७ वर्षीया श्रीमती मिना शेर्पाको हत्या गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार मंसिर ९ गते आफ्नी श्रीमती मिना हराएको भनेर प्रेमले निवेदन दिएका थिए । निवेदनपछि अनुसन्धानबाट प्रेम दोर्ची नै शंकास्पद पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियाे ।
सोधपुछको क्रममा उनले हत्या गरेको स्वीकारेकाे पनि प्रनि राजवंशीले बताए । उनले मंसिर ९ गते राति अन्दाजी साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किने क्रममा श्रीमती संग बीचबाटाेमा नै विवाद भएको र बाटैमा कुटपिट गरी हत्या गरेको खुलेको पनि उनले जानकारी दिए ।
हत्या पछि आफ्नै अलैची बारीमा लासलाई त्रिपालमा बेरेर खाल्डो खनेर गाडेको अवस्थामा मिना शेर्पाकाे शव फेला परेकाे छ । प्रहरीले शव सडिसकेको अवस्थामा फेला पारेको पनि जनाएकाे छ ।
प्रहरीले प्रेम दोर्चीमाथि कर्तव्य ज्यान कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेकाे जनाएकाे छ ।



