गाेरखा । नेकपा एमालेको जारी ११औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र अहिले बिहान ८ बजेबाट भृकुटीमण्डपमा सुरु भएकाे छ । पार्टीको निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी बिरोधको समय राखिएको छ ।
आयोगका प्रमुख बिजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर भोलि मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी बिरोधको छानबिन बिहान १० बजेसम्ममा सकिने छ ।
१०.१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेदवारीको फारम वितरण गर्दैछ ।
उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २.३० बजे हुनेछ । उम्मेदवारका विरुद्ध उजुरी दिने समय २.३० देखि आधा घण्टालाई राखिएको छ ।
उम्मेदवार विरुद्धको छानबिन १० मिनेटमै सक्ने आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।


