गाेरखा । नेकपा एमालेको पुन: विधान संशोधन भएको छ । ११औं महाधिवेशनको बन्दसत्रअघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गरेकाे विधान संशोधनको प्रस्ताव पारित भएको हो ।
याे संगै अब पदाधिकारीकाे सङ्ख्या पुन: १९ जना पुर्याएकाे छ । यसअघि भदौमा भएको विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पद खारेजसहित पदाधिकारी सङ्ख्या १९ बाट घटाएर १५ मा झारेको थियो ।
आज गरेकाे संशाेधनले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी पदाधिकारी सङ्ख्या १९ जना कायम गरेको छ ।
वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले ११औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरूलाई व्यवस्थापन गर्ने गरी विधानमा संशोधन गरेकाे हाे ।
संशोधित बिधान अनुसार पदाधिकारी सङ्ख्या १९, स्थायी कमिटी सदस्य ४५ र पोलिटब्युरो सदस्य ९९ सहित केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने छ ।
पुरानै विधान ब्युँत्याएकोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव गोकर्ण विष्ट, योगेश भट्टराई, नेता कर्ण थापा र काशीनाथ अधिकारीलगायतले विरोध गरेका छन् ।
बिहान ७:३० बजेदेखि बन्दसत्र शुरू गर्ने यसअघिको निर्णय रहेकोमा केन्द्रीय कमिटी बैठकका कारण दिउँसो १ बजेका लागि सारेकोमा पुन: फेरि ३ बजेका लागि सारेको हाे ।



