एजेन्सी । इजरायलले गाजाभित्र एउटा गाडीमा गरेको हमलामा परी हमासका १ जना वरिष्ठ कमाण्डर मारिएको दाबी गरेका छन् ।
इजरायली सेना र सुरक्षा निकाय शिन बेटले संयुक्त विज्ञप्ति जारी गर्दै हमासको सैन्य शाखा, अल-कसम ब्रिगेडका हतियार उत्पादन प्रमुख रायद सादलाई गाजा सहरमा ‘निष्क्रिय पारेको’ घोषणा गरेका हुन् ।
सादलाई अल-कसमका सबैभन्दा प्रमुख कमाण्डरहरूमध्ये एक मानिन्थ्यो र उनले ७ अक्टोबरमा गाजा सहरको पूर्वमा रहेका इजरायली बस्तीहरूमा हमासको हमलाका क्रममा धेरै ब्रिगेडहरूको नेतृत्व गरेका थिए ।
हमास-शासित नागरिक सुरक्षाका प्रवक्ता महमुद बसलले बीबीसीलाई बताएअनुसार यस हमलामा ४ जना मारिएकाे छ । उनले विस्फोटका कारण बाटोमा हिँडिरहेका अन्य थुप्रै मानिसहरू पनि घाइते भएको बताए ।
गाजाका एक स्थानीय हमास अधिकारीले बीबीसीलाई बताएअनुसार यस हमलामा सादका सहयोगी र अर्का तल्लो दर्जाका अधिकारी अबू इमाद अल-लाबान पनि मारिएका छन् ।
आईडीएफ र आईएसएको संयुक्त विज्ञप्तिमा थप भनिएको छ, ‘साद गाजा पट्टीमा विस्फोटक उपकरणका कारण मारिएका ‘धेरै सैनिकहरूको मृत्युका लागि जिम्मेवार’ थिए ।’
साद अक्टोबरमा युद्धविराम लागू भएपछि भर्खरै गठन गरिएको ५ सदस्यीय नेतृत्व सैन्य परिषद्का सदस्य भएको विश्वास गरिएको छ । इजरायलले उनलाई मार्ने प्रयास यसअघि पनि धेरै पटक गरेको थियो ।
सबैभन्दा उल्लेखनीय प्रयास सन् २०२४ को मार्चमा गाजा सहरमा इजरायलले गरेको एक आश्चर्यजनक अपरेशनका क्रममा भएको थियो, जब इजरायली सेनाले उनलाई गिरफ्तार गर्ने वा मार्ने प्रयास गरेको खबर आएको थियो । त्यतिबेलाका स्रोतहरूले साद लक्षित कम्प्लेक्सभित्रै रहेको तर छापा मार्नुभन्दा केही क्षणअघि भाग्न सफल भएको बताएका थिए ।
उनी लामो समयदेखि इजरायलको सबैभन्दा बढी खोजी हुने हमास व्यक्तित्वहरूमध्ये एक मानिन्थे र उनलाई मार्ने इजरायली प्रयास २ दशकभन्दा बढी समयदेखि जारी थियो ।



