गाेरखा । आफुलाई पूर्वराजा ज्ञानेन्द्र शाहको ‘भान्जा हुँ’ भनेर ठगी गर्दै हिडेकाे आराेपमा प्रहरीले अनुप कुमार सिंहलाई पक्राउ गरेको छ । सिंहलाई प्रहरीले झापाबाट पक्राउ गरेर काठमाडौँ लगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्टी गरेकाे हाे ।
काठमाडौँ महानगरपालिका–२७ असन घर भएर ललितपुर बस्दै आएका सिंह ठगी गरेर भारत तर्फ भाग्दै गरेको अवस्थामा झापाको धुलाबारीबाट पक्राउ परेका हुन् । उनीसँगै उनका सहयोगी दोलखा घर भएका लड्डु श्रेष्ठ समेत पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
बेलायतमा पूर्व राजपरिवारको लगानीमा ड्रिमल्याण्ड नामको होटल सञ्चालनमा आउन लागेको भन्दै सिंहले सिन्धुली घ्याङलेकका ५० जना भन्दा धेरैलाई ठगेको आरोप लागेकाे छ ।
आफूलाई मनोज कुमार भनेर चिनाउने सिंह यसअघि पनि ठगी मुद्दामा पक्राउ परेर जेल गएका ब्यत्ती हुन् । जेलबाट छुटेपछि उनले फेरि ठगी धन्दा सुरु गरेको अनुसन्धानबाट पत्ता लागेकाे काठमाडौँ लगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
आरोपीहरू विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । आफू हिमानी ट्रस्टमा समेत आबद्ध भएको बताउने सिंह विरुद्ध अहिलेसम्म ४२ जना पीडितले जाहेरी दरखास्त दिएका छन् । अहिलेसम्म सिंह र उनका सहयोगी श्रेष्ठविरुद्ध ४ करोड ठगेको उजुरी आएको आचार्यले जानकारी दिए ।
सिंहले काठमाडौँको ज्ञानेश्वरमा सञ्चालन गरेको कार्यालयबाट प्रहरीले सरकारी छाप र बेलायतको नक्कली भिसा समेत बरामद गरेको छ ।


