फाईल तस्बिर
गाेरखा । गएकाे बुधबारदेखि दैनिक ५ घण्टा बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा–मलेखु सडकखण्ड आज र भोलिका लागि भने खुला रहने भएको छ । नेकपा (एमाले) को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सडकमा आवतजावत खुलाइएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाले २ दिनका लागि सडक बन्द नहुने जनाएको छ । त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक योजनाले जनाएकाे छ ।
पुस १ गतेसम्म नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सडक आवागमन बन्द गरेर सडक स्तरोन्नति गर्ने कार्यतालिका रहेकाे छ ।
सडक विभागले काठमाडाैं जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कामलाई उच्च प्राथमिकतामा राखेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्त्वका साथ अघि बढाएको छ ।


