गाेरखा । बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा १ जना नेपालीलाई २५ वर्ष जेल सजाय ताकिएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय ताेकेकाे हाे ।
काेर्टले ढकाललाई त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको छ । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा अपराधमा अदालतले दोषी ठहर गरेको छ ।
त्यसक्रममा उनले १३ वर्ष मुनिका बालिकामाथि ५ पटक र १३ वर्षमाथिका बालिकामाथि २ पटक बलात्कार गरेको जनाइएको छ । उनले ८ वर्ष उमेरकी नाबालिकालाई समेत बलात्कार गरेको ठहर अदालतले गरेको छ ।
ढकालको बलात्कार र यौन दुराचारमा परेका अधिकांश पीडित पिटरबरो क्षेत्रकै छन् भने १ जनालाई उनले लन्डन पुगेर दुराचार गरेका थिए ।
पीडितमध्ये धेरै ढकालको निकट पारिवारिक सम्बन्ध रहेका परिवारका सदस्य छन् । उनले एकै परिवारका एक भन्दा बढी सदस्यमाथि पनि यौन दुराचार गरेको खुलेको छ ।
ढकालको पुख्र्यौली घर धादिङ भएकाे पुष्टी भएकाे छ । पिटरबरोमा रेष्टुरेन्ट व्यवसायमा समेत संलग्न रहंदै आएका उनलाई स्थानीय नेपालीले पण्डितका रुपमा समेत पुज्ने गरेका थिए ।



