गाेरखा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सर्वोच्च अदालतले हिजाे २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएकाे छ । अदालतकाे आदेश संगै यादवले आज विश्वासकाे मत लिन नसके उनकाे पद जाने निश्चित भएकाे छ ।
मधेश प्रदेशमा नयाँ सरकार गठनतर्फ दलहरुको ध्यान केन्द्रित भएको बेला सर्वोच्च अदालतले हिजाे त्यस्ताे परमादेश दिएकाे हाे । आज उनले विश्वासकाे मतमा एमाले बाहेकका दलहरुले मत नदिने भएकाे छ ।
एमाले बाहेकका दलका ७३ जना सांसदले दिएको रिटको सुनुवाइ गर्दै सर्वोच्चले हिजो २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको हो ।
सर्वोच्चले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्री यादवलाई १ पटक विश्वासको मत पुर्याउन अवसर दिने र नसकेमा प्रदेश प्रमुखले उपधारा २ अनुसारको सरकार गठन लागि प्रक्रिया अघि बढाउने बाटो खोलेको छ ।
१०७ प्रदेश सभा सदस्य रहेको मधेशमा सरकारको विश्वास कायम राख्न ५४ मत आवश्यक पर्छ । एमालेसँग सभामुखसहित २५ सांसद छन् । जसमा १ जना निलम्बित छन् ।
७ दलीय गठबन्धन भित्र कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ गरी ७३ जना सांसद छन् ।


