एजेन्सी । हङकङमा आगलागीमा परि ज्यान गुमाएकाहरुको सम्झनामा ३ दिने शोक शुरू भएको छ । बुधबार वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा भएको आगलागीमा ज्यान गुमाएकाहरुको सम्झनामा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले आजदेखि ३ दिन शोक मनाएको हो ।
शोकको शुरूआतमा हङकङका अधिकारीहरूले आगलागीमा ज्यान गुमाएकाहरूको सम्झनामा ३ मिनेट मौन धारण गरेका छन् । आगोमा परी कम्तीमा १२८ जनाको ज्यान गएको अधिकारीले जनाएका छन् ।
साेही घटनामा परी अहिलेसम्म २०० जनाभन्दा धेरै बेपत्ता छन् । ब्लकहरूमा चलिरहेको मर्मत सम्भारको काममा कमजोरी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् भने हत्या आरोपमा ३ जना गरी जम्मा ११ जना पक्राउ परेका छन् ।
यसैबीच चीनले भवनमा आगलागी जोखिम कम गर्न व्यापक अभियान शुरू गरेको छ । हङकङमा भएको भयानक आगलागीपछि चीनमा यस्तो अभियान शुरू गरिएको हो ।
चीनको सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार चीनको राज्य परिषद् सुरक्षा समितिले भवनमा मुख्य आगलागी जोखिम पहिचान गरी सुधार गर्ने अभियान शुरू गरेको छ । अभियानअन्तर्गत भवनहरूमा सजिलै जल्ने सामग्रीको प्रयोग जाँच गरिनेछ ।



