एजेन्सी । इजराइले लेबननको राजधानी बेरूतमा हवाई हमला गरेर हिजबुल्लाहका शीर्ष नेताकाे हत्या गरेकाे छ । आक्रमणमा हिजबुल्लाहका शीर्ष नेता अली ताब्ताबाई मारिएको दाबी इसराइलले गरेको हाे ।
हिजबुल्लाहले पनि आफ्नो नेता ताब्ताबाईको आक्रमणमा परी ज्यान गएको पुष्टि गरेको छ । यद्यपि, संगठनले उनको भूमिकाबारे विस्तृत जानकारी नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
रोयटर्सका अनुसार १ वर्षअघि भएको युद्धविराम उल्लंघन गर्दै इजराइलले लेबननको राजधानी बेरूतमा हवाई हमला गरेको जनाएको छ ।
राजधानी बेरूतको दक्षिणी क्षेत्रमा हमला गरी हिजबुल्लाहका शीर्ष नेता अली ताब्ताबाई मारिएको दाबी इजराइलको दावी छ ।
लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी ५ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । हिजबुल्लाहले यसको प्रतिवाद गर्ने घोषणा गर्दै त्यसको निर्णय वरिष्ठ नेतृत्वले गर्ने बताएको छ ।
ताब्ताबाईमाथि अमेरिकाले २०१६ मै प्रतिबन्ध लगाउँदै उनको सूचना दिनेलाई ५० लाख डलरसम्म पुरस्कार दिने घोषणा गरेको थियो ।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार संक्षिप्त सम्बोधन गर्दै हिजबुल्लाहलाई पुनः बलियो हुन नदिइने बताए । उनले लेबननको सरकारलाई हिजबुल्लाहलाई निशस्त्रीकरण गर्न पनि चेतावनी समेत दिएका छन् ।



