फाईल तस्बिर
गाेरखा । सर्वोच्च अदालतको आदेशले दुर्गा प्रसाईँ हिरासतमुक्त भएका छन् । रिहा भए लगतै उनले केपी ओली नेतृत्वको अघिल्लो सरकारले आफ्ना आवाज थुन्ने प्रयास गरेपनि वर्तमान सरकारले कम्तीमा सुन्ने काम गरेको बताएका छन् ।
तर, उनले आफ्नो आन्दोलन नरोकिएको जिकिर गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहमा हिजाे तय भएको बन्दसहितको कार्यक्रम स्थगित गरेर स्वरूपचाहिँ परिवर्तन गरेको बताए ।
आइतबार सर्वोच्च अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिए । उनले भने, ’सर्वप्रथम म सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु । पहिलाको सरकारले हाम्रा आवाजहरू बन्द गर्ने काम गरेको थियो । कमसेकम यो सरकारले त्यो आवाज सुन्यो र तपाईँका माग जायज छन् भन्यो ।’
उनले भने, ’हामीले यो आन्दोलनलाई स्थगित गरेको होइन, केवल आन्दोलनको मोडालिटी केही समयका लागि परिवर्तन गरेका हौँ । सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीज्यूले विशेष अनुरोध गर्दै दुर्गाजी, एक पटक बसौँ, तपाईँले उठाएका मागहरू जनजीविका र सर्वहारा वर्गसँग सम्बन्धित छन् भनेपछि मैले उहाँहरूको वचन राखेको हुँ।’
उनका अनुसार सरकार उनका २७ बुँदे मागबारे छलफल गर्न विज्ञसहितको टोली बनाउन तयार भएको छ ।
उनले आफू हिंसाको पक्षमा नरहेको र देशमा थप अशान्ति नहोस् भन्ने चाहेको समेत बताए । आन्दोलनको घोषणा गरेपछि उनी ५ दिनअघि निवासबाटै पक्राउ परेका थिए ।



