एजेन्सी । मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको ज्यान गुमाएका छन् । साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा पर्दा उक्त संख्याका भारतियहरुले ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेहरुमा २० महिला र ११ बालबालिका रहेकाे भारतिय स्थानीय सञ्चारमाध्यमले जनाएकाे छ । बस डिजेल बाेकेकाे ट्याङ्करसँग ठोक्किएपछि बसमा आगो लागेको थियो ।
प्रारम्भिक रिपोर्टहरूमा दाबी गरिए अनुसार, ज्यान गुमाउने सबै भारतीय हुन् । उनीहरूमध्ये धेरैजसो यात्रु हैदराबादबाट तीर्थयात्रा जाँदै थिए ।
यो दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिकै भारतीय समयअनुसार राति करिब १:३० बजे भएको थियो । त्यस समयमा धेरै यात्रुहरू सुतिरहेका थिए, जसले गर्दा ठोक्किएपछि बसमा आगो लाग्दा मानवीय क्षति बढेको हो ।
तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावासको लगातार सम्पर्कमा रहेको बताएको छ । राज्य सरकारले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरूलाई दूतावाससँग समन्वय गरेर पीडितहरूको पहिचान र अन्य औपचारिकताहरूमा सहयोग गर्न निर्देशन दिएका छन् ।



