गाेरखा । केही दिन यतादेखी देशैभर चिसो बढ्दै गएको छ । आज बिहान काठमाडाैं उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज बिहान ५:४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस मापन भएको हो । आज उपत्यकाकाे न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस र अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान गरिएकाे छ ।
त्यस्तै बिहान जुम्लाको न्यूनतम तापक्रम बिहान माइनस २.९ डिग्री सेल्सियस मापन भएको छ । आज कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । त्यस्तै कर्णालीको पनि उच्च क्षेत्रमा आंशिक बदली छ ।
तराईका केही भागमा हुस्सु लागेको महाशाखाले जनाएकाे छ । देशका अरू बाँकी भागमा मौसम मुख्यतया सफा नै छ ।
आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।



