काठमाडाैं । मधेश प्रदेशसभाकी उपसभामुख बबिताकुमारी राउत ईशरले ५ जना प्रदेशसभा सदस्यमाथिको कारबाही बदर गरेकी छिन् ।
सभामुख रामचन्द्र मण्डलले हिजाे ५ जना सांसदलाई पदमुक्त गरेको सूचना निकालेपछि उपसभामुखले त्यसको विरोध गर्दै बदर गरेकी हुन् ।
उनले सूचना निकालेर पदमुक्त भएका भनिएका ५ जना प्रदेशसभा सदस्यको कारबाही बदर भएको जानकारी गराएकी छिन् ।
सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै हिजो नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन कलवार र शारदा शङ्कर प्रसाद कलवारको पद रिक्त भएको सूचना निकालेका थिए ।
तर उपसभामुख बबिताकुमारीले ५ जना सांसदहरु कात्तिक २२ गतेको बैठकमा उपस्थित भएको भन्दै उनीहरुमाथिको कारबाही बदर भएको उल्लेख गरेकी छिन् ।
यसअघि कात्तिक २२ गतेको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णयविपरीत प्रदेशसभामा संसदीय दलको नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको, दलको निर्देशनबमोजिम समाभुखले पटकपटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना सभा चलाएको भन्दै ७ दलले सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।



