काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हो ।
वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर कार्तिक २६ अर्थात भाेली अवकाशमा जाँदै छन् । खापुङले भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका थिए ।
आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उनका व्याचमेट एआईजीद्वय राजन अधिकारी र डा. मनोज कुमार केसी थिए । एआईजी शिद्धी बिक्रम शाह पनि आईजीपीको दाबेदार थिए ।
२०८२ वैशाखमा चन्द्र कुवेर खापुङसँगै एआईजीमा बढुवा भएका कार्की वरीयता सूचीमा पहिलो नम्बरमा थिए । कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।
२०८० मा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदा कार्की जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख थिए । एआईजीको मेरिट लिस्टमा ३ नम्बरमा रहेका डा. केसीले सुरु गरेको शरणार्थी प्रकरणको अनुसन्धानलाई कार्कीले साथ दिए । मुद्दाको अनुसन्धान प्रतिवेदन तयार गर्ने र अभियोजनमा सरकारी वकिल कार्यालयसँग कार्कीको टोलीले समन्वय गरेर काम गरेको थियो ।



