काठमाडाैं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ती संगै ३ जना मन्त्रीले सपथ लिएका छन् । नेकपा (एमाले) बाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छाले मन्त्री पदकाे सपथ लिएका हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवपछि प्रदेश प्रमुख भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।
एमाले केन्द्रीय सदस्य एवम् संसदीय दल नेता यादवलाई प्रदेश प्रमुख भण्डारीले आइतबार राति नै मुख्यमन्त्रीमा नियुक्त गरेको बुझिएको छ ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठूलो दलको रूपमा रहेको छ ।
एमाले दल नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुख भण्डारी भने काठमाडौं आएकी छिन् ।
पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) का अनुसार बर्दिबास र सिन्धुलीको सिमाना स्थित एक होटलमा नियुक्तिपत्र प्रदान गरेकी हुन् । उनी सोमबार बिहान काठमाडौं आएकी थिइन् ।
भण्डारीले आफू अस्वस्थ भएको कारण जनाउँदै काठमाडौं आएको बताएकी थिइन् । तर बर्दिबास र सिन्धुलीको सिमाना पुगेर उनले यादवलाई मुख्यमन्त्री नियुक्त गरिन् र त्यहीँ उनलाई शपथ गराइन् । नवनियुक्त मन्त्रीहरूको पद तथा गाेपनीयताको शपथ पनि त्यहीँ भयो ।
पूर्वमुख्यमन्त्री सोनलले मधेश प्रदेशको जनतासँग धोका भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री नियुक्त हुँदै गरेको भिडिओ सहित उनले लेखेका छन् ।



