एजेन्सी । आइतबार साँझ उत्तरी जापानको तटीय क्षेत्रमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पपछि थप परकम्पहरू महसुस गरिएको छ र सुनामीको चेतावनी जारी गरिएको छ ।
जापानको समय अनुसार करिब ५ बजे इवाते प्रान्तको तटबाट १० किलोमिटर समुन्द्र सतहमुनि केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । एजेन्सीले उत्तरी तटीय क्षेत्रमा १ मिटर अग्लो सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरेको छ ।
प्रारम्भिक रिपोर्ट अनुसार तत्काल कुनै चोटपटक वा क्षतिको विवरण आएको छैन । उक्त क्षेत्रमा रहेका २ आणविक ऊर्जा प्लान्टहरूमा पनि कुनै असामान्य गतिविधि नदेखिएको जनाइएको छ । भूकम्पको १ घण्टासम्म पनि सुनामीको चेतावनी कायमै राखिएको थियो ।
सार्वजनिक प्रसारक एनएचकेले सुनामीको खतराका कारण मानिसहरूलाई तटीय क्षेत्रबाट टाढा रहन चेतावनी दिएको छ । एनएचकेका अनुसार इवाते प्रान्तको ओफुनाटो सहर, ओमिनाटो बन्दरगाह, मियाको र कामाईशीमा करिब १० सेन्टिमिटर अग्लो सुनामीको लहर मापन गरिएको थियो, जुन पछि कुजीको तटीय क्षेत्रमा २० सेन्टिमिटरसम्म पुगेको थियो ।
भूकम्पपछि आउने सुनामीका लहरहरू केही घण्टासम्म जारी रहने र समयसँगै ठूलो हुनसक्ने चेतावनी जारी गरिएको छ । यस क्षेत्रमा बुलेट रेल सेवाहरू अस्थायी रूपमा रोकिएका थिए भने भूकम्पका कारण केही स्थानमा विद्युत् कटौती भएको क्योडो न्यूजले जनाएको छ ।
प्रशान्त क्षेत्रको ‘रिंग अफ फायर’ मा अवस्थित जापान भूकम्पको जोखिममा रहेको देश हो । यही क्षेत्रमा सन् २०११ को मार्चमा घातक भूकम्प र सुनामी गएको थियो ।



