काठमाडाैं । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि आजबाट मौसममा क्रमिक सुधार भएको छ ।
पश्चिमी वायू, अरब सागरमा विकसित प्रणाली र मोन्था चक्रवातको समेत प्रभावले केही दिनयता वर्षा र हिमपात भैरहेकोमा गएरातिदेखि क्रमिक सुधार हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
हिजो पूर्वी भेगका केही ठाउँमा ठूलो वर्षा भए पनि गएराति सामान्य वर्षा मात्रै भएको छ । राति पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्का पानी परेको छ ।
आज कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज र भोलि केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि हिजो, अस्तिजस्तो लगातार झरी र ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।




















