काठमाडाैं । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतलाई २–१ अन्तरले हराएको छ । नेपालको जितमा दुबै गोल कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले गरिन् । भारतको लागि करिश्मा पुरूषोक्तम सिरभोएकरले १ गोल गरिन् ।
सिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेलको दोस्रो मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् । नेपालले सुरुमै १–० को अग्रता बनायो । पहिलो हाफ १–० को नतिजामा सकियो ।
दोस्रो हाफपछि नेपालले ६३औं मिनेटमा फेरि गोल गर्याे । साम्बाले हानेको फ्रि–किक गोलमा परिणत भयो । साम्बाको यो ६६औं अन्तर्राष्ट्रिय गोल हो । खेलको ८१औं मिनेटमा भारतले १ गोल फर्कायो । त्यसपछि दुवैतर्फबाट थप गोल भएन् ।
नेपाल २–१ को जित हात पार्न सफल रह्यो । नेपालले भारतलाई हराएको यो चौथो पटक हो । यसअघि भएकाे खेलमा इरानले नेपाललाई ३–० र भारतलाई २–० ले हराएको थियो । अब नेपालले आउदाे बिहीवार सिक्किममा भारतसँग मैत्रिपूर्ण खेल खेल्नेछ ।
तस्वीर : एन्फा




















