दैलेख । दैलेखमा लाग्ने भुवा जात्रा हेर्न पुगेका १ युवकको हत्या भएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका—८ पंक भन्ने ठाउँमा जात्रा हेर्न पुगेका दैलेख नौमुले गाउँपालिका—४, उत्तिसेनीका ३९ वर्षीय लाल बहादुर पुन मगरको हत्या भएको दैलेख प्रहरीले पुष्टी गरेकाे हो ।
प्रहरीले युवक हत्या आराेपमा ६ जनालाई पक्राउ गरेकाे छ । प्रहरीका अनुसार लाल बहादुरकाे हत्या आराेपमा दैलेख नौमुले गाउँपालिका—४, कै भित्रिखोलाका २९ वर्षीय पदम बहादुर रोका मगर, २८ वर्षीय नर बहादुर गुरुङ, २८ वर्षीय वीरेन्द्र रोका मगर, ३२ वर्षीय तिलक घर्ती मगर, २९ वर्षीय लक्ष्मण सुनार र २८ वर्षीय कमल रानामगरलाई पक्राउ गरिएकाे छ ।
कात्तिक ३ गते साँझदेखि जुनीचाँदे गाउँपालिकाको पंकस्थित दलसरा रावतको बारीमा मेला लागिरहेको थियो । सोही क्रममा ४ गते बिहान करिब ३ बजे लाल बहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो । घाइते अवस्थामा उनलाई उनका साथीहरू विवेक बुढा मगर र वीर बहादुर घर्ती मगरले घटनास्थलबाट आफ्नो घरमा लगेका थिए ।
५ गते पुन मगर आफ्ना साथीहरूसँग घर जाने भन्दै सोही ठाउँको पंक गाउँमा रहेको दलवीर रावतको घरमा पुगेका थिए । सोही रात भान्छा कोठामा सुतेका पुन मगर कात्तिक ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए ।
घटनालगत्तै हत्यामा संलग्न व्यक्तिहरू फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा कात्तिक ७ गते विभिन्न स्थानबाट फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको हाे ।



