गोरखा । माओवादी केन्द्रका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ ले निर्वाचनको माध्यमबाट नै संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।
जेनजी आन्दाेलन पछी पहिलाे पटक गाेरखा आएका उनले सञ्चारकर्मीहरु संग कुरा गर्दै अहिलेको अवस्थामा निर्वाचनको अर्को विकल्प नभएको निर्वाचनको माध्यमबाट नै संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नु पर्नेमा जोड दिएका हुन् ।
नेकपा माओवादी केन्द्र गोरखाको आयोजनामा आइतबार जिल्ला पाटी कार्यकर्ताको भेटघाट तथा प्रशिक्षण कार्यक्रम पछी सञ्चारकमर्मीहरु संग कुरा गर्दै ‘‘हामी निर्वाचनबाट पछि हट्ने कुरा हुन सक्दैन्, उनले भने, ‘‘सरकारलाई निर्वाचनको वातावरण बनाउन अहिले सवै ढंगले दवाव दिनु आवश्यक छ ।’’
जेनजी आन्दोलनको गम्भीर समिक्षा गरेर माओवादीले जटिल परिस्थितीमा देशलाई निकास दिन निर्वाचन नै विकल्प भएको निस्कर्ष निकालेको उनको भनाई थियाे । पछिल्लो समय निर्वाचनको वातावरण पनि विस्तारै बन्दै गएको र अन्य दलहरु समेत निर्वाचनमा भाग लिन तयार भइसकेको संयोजक दाहालले बताए ।
देशमा फेरी अर्को दुर्घटना हुन नदिने जिम्मेवारी सवैको रहेको भन्दै उनले तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताए । ‘‘जेनजी आन्दोलनका मागहरु माओवादी केन्द्रकै मागहरुको निरन्तरता हो, संयोजक दाहालले भने, ‘‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्णसमानुपातिक निर्वाचन प्रणालीको एजेण्डा उठाउदैं आएका थियौं भने सरकारमा रहदा र सरकार बाहिर रहदा पनि भ्रष्टाचार र सुशासनको पक्षमा काम गर्दै आएको स्पष्ट नै छ ।’’
माओवादीले उठाउदै आएका माग र जेनजी आन्दोलनले उठाएका मागमा समानता रहेको भन्दै उनले त्यसले माओवादीलाई गर्व लागेको समेत बताए ।
त्यस अघि जिल्ला सदरमुकाममा रहेकाे पार्टी कार्यालयमा संयाेजक दाहालले जिल्ला भित्रका ५ सयजना भन्दाबढी नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा जिल्ला इन्चार्ज अमर तुम, जिल्ला संयोजक छमबहादुर गुरुङ पार्टीका गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा, केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङलगायतको सहभागिता रहेको थियो ।



