काठमाडाैं । आज बेलुकीदेखि शुक्रवारसम्म देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हिजो सार्वजनिक गरेको ३ दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार आज सबै प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे छ ।
भोलि पनि गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी अवस्थाबारे स्वतन्त्र रुपमा विश्लेषण गर्दै आएका विज्ञहरुले भने भोलिदेखि शुक्रवारसम्म पानी पर्ने सम्भावना रहेको बताएका छन् ।
भोलिदेखि शुक्रवारसम्म देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएकाे छ । देशको पूर्वी भागमा अलि धेरै पानी पर्न सक्ने अनुमान छ । अरु क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाकाे अनुमान छ ।
यतिबेला किसान धान काट्न व्यस्त भएकाले काटेको धान तत्कालै भित्र्याउन र ४/५ दिन सकभर धान काट्ने र भित्र्याउने काम नगर्न विज्ञहरुको सल्लाह दिएकाे छ ।
यस्तै सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवम् ‘अलर्ट’ बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो ।
यस्तै, पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न एवम् लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवम् एक्लै यात्रामा ननिस्कनसमेत अनुरोध गरेको छ । पछिल्ला २ दिन अर्थात् गएकाे शनिबार र हिजाे आइतबार लेक लागेर मनाङ र कास्कीमा गरी ४ जनाको ज्यान गएको छ भने १ जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडाैं ल्याइएको छ ।



