रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ लिस्नेको भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । साेही दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् ।
हिजो बेलुकी सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे हो ।
दुर्घटनामा परी ७ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएकाे जानकारी अनुसार दुर्घटनामा आठबिसकोट नगरपालिकाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, १५ वर्षकी कल्पना नेपाल र २८ वर्षकी सबिता विकको ज्यान गएको हो ।
घाइतेहरु सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।



