कैलाली । कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवाको सातविघा नजिकै नहरमा डुबेर ३ जना बालिकाको ज्यान गएको छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित ३ जना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख नायब उपरिक्षक प्रकाश डाँगीले जानकारी दिए ।
उनका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नं. १५ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सिनाको ज्यान गएको हो ।
निशा र मानुषी टीकापुरको जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा र सुलोचना जानकी गाउँपालिका–१ मा रहेको सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत भएकाे पुष्टी भएकाे छ ।
प्रनाउ डाँगीका अनुसार तीनै जना बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाका अनुसन्धान थालिएकाे पनि उनले बताए ।



