प्रतिकात्मक तस्बिर
गाेरखा । आज बिहान त्रिशुली नदीमा हामफालेका गाेरखाका १ जना पुरुष बेपत्ता भएका छन् । त्रिशुली नदीमा हामफाल्ने ब्यती गण्डकी गाउँपालिका-१ का ४३ बर्षिय दिनेश अधिकारी भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले बताए ।
उनका अनुसार अधिकारी साेमबार बिहान ९:३० बजे गोरखाकै शहिदलखन गाउँपालिका- ४ राईनास र चितवनको ईच्छाकामना गाउपालिका-३ जोड्ने झोलुङगे पुलबाट हाम फालेका थिए ।
मानसिक राेगी समेत रहेका अधिकारी पुलबाट हामफालेकाे बिषयमा उनका परिवारजनले बिहान १० बजे गाेरखा प्रहरीलाइ जानकारी गराएकाे पनि सूचना अधिकारी श्रेष्ठले बताए ।
अधिकारीकाे खाेजीकाेलागि कुरिन्टार स्थित विपद व्यवस्थापन तालिम शिक्षालयबाट सशस्त्र प्रहरीका सहायक प्रहरी निरिक्षक अस्मित चौहान मगरको कमाण्डमा गोताखोर सहित को टोली, नेपाल प्रहरी र उनका आफन्तहरुले खाेजी गरिरहेका छन् ।
बेपत्ता अधिकारीले प्रयाेग गरेकाे फाेन र कपडा समेत झोलुङ्गे पुलमा फेला परेको गाेरखा प्रहरीले जनाएकाे छ ।



