काठमाडाैं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो ।
हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतवारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ ।
कागलाई संदेशबाहकका रूपमा लिइन्छ । यस अवसरमा आज काठमाडाैंको कागेश्वरी मनोहरा नगरपालिका–१ कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।
भोलि दिउँसो २ बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि भोलि नै परेको हो । त्यस्तै ४ गते मङ्गलवार यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।
गाईगोरु एवम् गोवर्द्धन पूजा कात्तिक ५ गते बुधवार परेको छ । आत्म पूजा र नेपाल संवत्को आरम्भ यसै दिन परेको छ । कात्तिक ६ गते बिहीवार भाइटीका र किजापूजा मनाइनेछ । भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले यसअघि नै जानकारी गराएको छ ।



