काठमाडौं । बानेश्वर प्रहरी वृत्तबाट प्रहरीको एसएलआर हतियार लुट्नेमध्येका एकजना विभिन्न सातवटा अपराधमा मुद्दा चलेका अभियुक्त भएको खुलेको छ ।
भिडियो तथा फोटोको आधारमा मंगलबार राति ललितपुरबाट पक्राउ परेका समीर भन्ने राजु परियारमाथि प्रहरीले यसअघि नै सातवटा मुद्दा चलाइएको पाइएको हो । परियारलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको ललितपुर टोलीले पक्राउ गरेको हो ।
कार्यालयका एसपी काजीकुमार आचार्यले उनको साथबाट हतियार भने फेला नपरेको बताए । उनले भने, “विभिन्न ठाउँमा प्रहरीको एसएलआर बोकेर प्रदर्शनमा पुगेको देखिन्छ । अहिले हतियार भने फेला परेको छैन । हामी सोधपुछ गर्दै छौँ ।”
प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा परियारमाथि प्रहरीले २०७५ सालदेखि नै मुद्दा चलाएको खुलेको छ । रेकर्ड अनुसार, परियारमाथि बानेश्वर प्रहरीले २०७५ पुस १३ मा नक्कली सुन देखाएर ठगी गरेको कसुरमा मुद्दा चलाएको देखिन्छ ।
यसरी नै २०७९ पुस १७ मा प्रहरी वृत्त महाराजगन्ज प्रहरीले बैंकिङ कसुरमा मुद्दा चलाएको थियो । यसरी नै ०८० भदौमा ललितपुर प्रहरी परिसरले दुईपटक ठगी कसुरमा मुद्दा चलाएको देखिएको छ ।
परियारमाथि ०८० असोज र ०८१ वैशाखमा गरेर दुईपटक प्रहरी वृत्त स्वयम्भूले पनि ठगी कसुरमै मुद्दा चलाएको देखिएको छ । यसरी नै २०८१ मै लाइसेन्स परीक्षाको ट्रायलमा पास गराइदिने भन्दै ठगी गरेको कसुरमा पक्राउ परेको देखिएको हो ।
उनी भदौ २४ मा जेनजी समूहले गरेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालय तोडफोड तथा हतियार लुट्ने समूहमा समेत सक्रिय देखिएको खुलेको हो ।



