एजेन्सी । जेन-जी काे आन्दाेलन चर्किदै लगएपछि अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन् । उनी देश छाडेर भागेको भनेर सोमबार मात्रै पुष्टि भएको थियो । तर उनी देश छाडेर भागे पनि उनी कहाँ गए भन्ने यकिन छैन ।
जेनजी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको देशव्यापी आन्दोलन चर्किँदै गएपछि उनी आइतबार नै देश छाडेर भागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
माडागास्करको संसदका विपक्षी नेता, एक सैनिक स्रोत र कुटनितिज्ञले राष्ट्रपति देश छाडेर भागेको पुष्टि गरेका छन् ।
उनले सोमबार राति फेसबुकमार्फत देशवासीलाई सम्बोधन गर्दै आफ्नो ज्यानको सुरक्षाका कारण सुरक्षित स्थानमा जानुपरेको बताएका रोयटर्सले जनाएको छ । उनले आफ्नो ठेगाना भने नखुलाएको तर देश नछाड्ने बताएको पनि रोयटर्सले लेखेको छ ।
माडागास्करका एक सैनिक अधिकारीले राष्ट्रपति राजोएलिना आइतबार फ्रान्सेली विमान चढेर देश छाडेको बताएका छन् ।
फ्रान्सेली रेडियो आरएफआईले पनि राष्ट्रपति राजोएलिनाले फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंसँग कुरा गरेको जनाएको छ ।
सैनिक स्रोतका अनुसार आइतबार माडागास्करको सन्त मारी विमानस्थलमा फ्रान्सेली सैन्य विमान अवतरण भएको थियो । केही मिनेटमै एक हेलिकोप्टर त्यहाँ पुगेर राष्ट्रपति राजोएलिनालाई लिएर विमानमा चढाइएको भनेर रोयटर्सले लेखेको छ ।



