काठमाडाैं । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा आज नेपालले कतारसँग खेल्दैछ । यो खेल नेपाली समयानुसार बेलुकी ८:४५ बजे ओमानमा हुनेछ ।
यसअघि नेपालले हिजो संयुक्त अरब इमिरेट्स (युएई) माथि १ रनको जित निकालेको थियो । यूएईलाई हराएसँगै नेपाल विश्वकप नजिक पुगेको छ ।
हिजोको खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । यूएईलाई अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा ३ विकेट गुमाएर १ रन मात्र जोड्न सक्यो ।
नेपाल २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । २ खेलमा ४ अङ्क नै भएको ओमान नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ ।यूएई २ खेलमा २ अङ्कसहित तेस्रो स्थानमा छ ।
सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् ।
यस्तै नेपालले बुधवार ओमान र आउँदो शुक्रवार सामोआसँग खेल्नेछ । सुपर–६ मा शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
तस्वीर : क्यान


