काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले बालेन शाह र सुदन गुरूङविरुद्ध आज जाहेरी दिएका छन् ।
आइतबार काठमाडौं परिसर पुगेर उनीहरूले काठमाडाैं महानगरपालिका मेयर र हामी नेपाल संस्थापक विरुद्ध नेविसंघले जाहेरी दिएको हो ।
संघका केन्द्रीय सदस्यहरू मनिश जङ थापा, अशोक सिंह बिष्ट र बिजय शाहले संयुक्तरुपमा हस्ताक्षर गरेर शाह र गुरूङविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
उजुरी पछि केन्द्रीय सदस्य विष्टले भने,’हामीले जाहेरी दिएका छौं । २४ घण्टाभित्र जाहेरी दर्ता गरेर घटनामा संलग्नहरूलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छौं।’
भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनमा सिंहदरबार,सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा तोडफोड तथा आगजनी भएको थियो ।
यी घटनामा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमा जान उस्काएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी भवनमा लुटपाट गराउनमा भूमिका खेलेको ठहर गर्दै नेविसंघले मेयर शाह र गुरूङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानी जाहेरी दिएका हुन् ।
यसअघि मेयर शाह र गुरूङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि उजुरी दिएको थियो ।



