काठमाडाैं । हुलाक सेवा विभागले आज नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ ।
नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य सचिव टंकलाल घिसिङले हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमा टाँचा लगाए ।
विश्व हुलाक दिवस २०२५ का अवसरमा आइसिसी पुरुष विश्वकप र आईसीसी महिला यू-१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरेको हो ।
खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनितिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ ।
विभागले १० रुपैयाँ दरका ५ लाख प्रति हुलाक टिकट प्रकाशन गरेको छ ।




















