काठमाडाैं । नेकपा (एमाले) ले बिहीबार गुण्डुमा कार्यकर्ता उतार्दैछ। एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार बिहान ११ बजे सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालयनजिकै कार्यकर्ता भेलाको आयोजना गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि भने पार्टी अध्यक्ष केपी शर्मा ओली हुने छन् । उक्त कार्यक्रममा एमालेका अन्य शीर्षस्थ नेताहरू पनि सहभागी हुने आयोजकले जानकारी दिएका छन् ।
जेन–जी प्रदर्शनकारीको एउटा घटकले बिहीबार माइतीघर मण्डला प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालयसँग अनुमति पनि लिएको थियो । जेन–जी विद्रोहको बिहीबार महिना दिन पुगेको सन्दर्भमा आन्दोलनको मर्म र भावनाको जगेर्ना गर्न भन्दै ती प्रदर्शनकारीले अनुमति लिए पनि गृह मन्त्रालयले उक्त कार्यक्रम नगर्न भनेको छ ।
त्यसपछि उनीहरूले माइतीघर मण्डलको कार्यक्रम स्थगित गरेका छन् ।
सामाजिक सञ्जाल टिकटक लगायतका प्लेटफर्ममा असोज २३ को कार्यक्रमबारे व्यापक प्रचार भएको भदौ २४ जस्तै घटनाको पुनरावृत्ति हुन सक्ने अवस्थालाई ध्यानमा राखेर एमालेले प्रदर्शनको तयारी गरेको थियो । त्यसैलाई कार्यकर्ता भेलामा परिणत गरेको एक नेताले बताए ।



