काठमाडाैं । आज कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पानी पर्ने सम्भावना छ । दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा मौसम साधारणतया बदली रहने र बाँकी तराइ भागमा आंशिक बदली रहने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भागका केही स्थान तथा तराइ भागका केही स्थानमा दिउँसो मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको हाे ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव तथा अरु क्षेत्रमा मनसुनी एवम् स्थानीय वायुको कमजोर प्रभाव रहेको महाशाखाले जनाएको छ । गएराति नवलपरासीको बर्दघाट आसपासका क्षेत्रमा मध्यम वर्षा भएको थियाे । त्यस्तै कर्णाली, सुदूरपश्चिमका थोरै तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।
गएको जेठ १५ मा पूर्वबाट नेपाल भित्रिएको मनसुन असोज २० गतेदेखि बाहिरिन थालेको छ । यसवर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भागको धेरै ठाउँहरू र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै ठाउँबाट बाहिरिसकेको छ । मनसुनी वायू कमजोर हुँदै गएको र बाँकी भागबाट पनि मनसुन बाहिरिने क्रममा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यससम्बन्धि थप जानकारी अद्यावधिक गर्दै जाने जनाएको छ ।



