काठमाडाैं । बीपी राजमार्ग अन्तर्गत काभ्रे खण्डमा आजदेखि असोज २१ गतेसम्म रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेबेंशी–सिन्धुली सडक खण्डमा आवातजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनलाई रोक लगाएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रे जिल्लामा भारी वर्षाको सम्भावना उच्च रहेको उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । त्यसपछि जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सवारी रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधनहरु रोक्न सक्ने उनले बताए । प्रशासनले असोज २१ गतेसम्म अत्यावश्यक नभइकन बाहिर नजान, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्न र पहिरोको जोखिममा रहेका क्षेत्र तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
गएको वर्षको असोज ११ र १२ गतेको वर्षा, बाढी र पहिरोले बीपी राजमार्ग क्षतविक्षत बनाएको थियो । क्षति पुगेका ठाउँमा अहिलेसम्म पनि पुनर्निर्माणको काम सकिएको छैन् । त्यसले यसपालिको वर्षामा क्षतिको जोखिम कायमै रहेको छ ।



