सर्लाही । सर्लाहीको हरिपूर्वामा बुधबार बिहान माटोको ढिस्काेले पुरिएदा ४ जनाको ज्यान गएको छ ।
सर्लाही र महोत्तरीको सीमा भएर बग्ने हरिपूर्वा नगरपालिका –१, स्थित हर्दीखोलामा माटो लिन गएका ३ जना बालबालिका र १ जना वृद्धको घटनास्थलमै ज्यान गएको सर्हाली प्रहरीले जनाएकाे हो ।
ज्यान गुमाउनेमा सोनमा गाउँपालिका-६, मगरथानाका ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सबिबा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षिया नर्गिस खातुन रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक एवं सह–प्रवक्ता बालिष्टर सिंहले बताए ।
उनका अनुसार घटनास्थलमा अचेत अवस्थामा रहेका चारै जनालाई प्रादेशिक अस्पताल मलङ्गवा लगेर चेकजाँच गराउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
खोला किनारमा माटो खन्नेक्रममा ढिस्को नै खसेर चारै जनालाई पुरेको प्रहरीले जानकारी दिएकाे छ । साेही ढिस्काेबाट अन्य २ जना भाग्न सफल भएका थिए ।



